३७ लाख जनतालाई खानेपानी सुविधा छैन

फागुन ४, काठमाडौं । जलस्रोतको धनी देश भए पनि १३ प्रतिशत नेपाली अझै स्वच्छ खानेपानीबाट पूर्ण रूपमा वञ्चित छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार ३७ लाख ५० हजार ५ सय ९३ जनसंख्याले अशुद्ध पानी पिउने गरेका छन् । उनीहरूले खोला, नदी, इनारको पानी प्रयोग गर्दै आएको मन्त्रालयको तथ्यांक छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ अनुसारको पानी २० प्रतिशतले मात्र प्रयोग गरेका छन् । २ करोड ८८ लाख ५० हजार ७ सय १७ जनसंख्यामध्ये ५७ लाख ७० हजार १ सय ४३ जनाले मात्र राष्ट्रिय मापदण्डअनुसार स्वच्छ पिउने पानी पाएको खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्यांक छ ।

स्वच्छ पानी सहरी क्षेत्रका बासिन्दाले मात्र पिउन पाएको पनि मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको खानेपानी महाशाखाका सिनियर डिभिजन इन्जिनिर हरिप्रसाद तिमिल्सिनाले भने, ‘प्रशोधित पानी प्रयोग गर्नेहरू राजधानीलगायत ठूला सहर तथा जिल्ला सदरमुकाममा मात्र सीमित छन् ।’ बजेट अभावका कारण प्रशोधित स्वच्छ पानी सबै ठाउँमा पु¥याउन नसकिएको इन्जिनियर तिमिल्सिनाले दाबी गरे । उनले भने, ‘अहिलसम्म पानीको पहुँचमा पुर्‍याउन मात्र ठिक्क भएको छ ।’ पर्याप्त बजेट विनियोजन भएमा मात्र सबैलाई स्वच्छ पानी उपलब्ध गराउन सकिने उनको भनाइ छ । चालू आवमा खानेपानी मन्त्रालयको बजेट ३२ अर्ब ६४ करोड रुपैयाँ छ ।

दुई करोडले पिउँछन् मापदण्ड नपुगेको पानी
कुल जनसंख्याको ६७ प्रतिशतले मापदण्ड नपुगेको पानी पिउने गरेका छन् । यस्तो पानी पिउनको जनसंख्या एक करोड ९३ लाख २९ हजार ९ सय ८० रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । उनीहरूले प्रशोधन नगरिएको धारा तथा ट्युबेलको पानी सीधै पिउने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांशले यस्तो पानी प्रयोग गर्ने गरेका छन् ।

प्रदूषित पानीबाट के रोग लाग्छ ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुन भन्छन्, ‘प्रदूषित पानीबाट सर्ने तथा नसर्ने दुवै खालका रोग लाग्न सक्छ । साधारणतः झाडापखला, टाइडफाइड, जन्डिसजस्ता रोग देखिन्छ । अस्वच्छ पानीबाट जाडोभन्दा गर्मी मौसममा बढी रोग लाग्न सम्भावना रहन्छ ।’

चुहावट नियन्त्रण गर्न सरकारी प्रयास
-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खानेपानीको चुहावट नियन्त्रण सरकारको प्राथमिकतामा परेको बताउँदै आएका छन् । उपत्यकामा वितरण हुने थोरै पानी पनि चुहिएर नोक्सानी हुने गरेको प्रतिवेदन पाएपछि नियन्त्रण गर्न प्रधानमन्त्री प्रचण्डले पहल गरेका छन् । उपत्यकामा वितरण हुने थोरै पानीमध्ये पनि ४० प्रतिशतसम्म चुहावट हुने गरेको जानकारी आएको छ,’ प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्य भन्छन्, ‘यति धेरै पानी चुहिएर सकिने कारण खोज्दै सुधार गर्न सरकारबाट निर्देशन भएको छ ।’

उनले पानी चुहावट हुने कारण खोजेर नियन्त्रण गर्न निर्देशन दिएको र हाल चुहावट भइरहेकोमध्ये आधा नियन्त्रण गर्न सकिने देखिएको बताए । खानेपानी मन्त्रालय, केयुकेएललगायतका संस्थाका कर्मचारी डाकेर प्रधानमन्त्रीले छलफल गरेका थिए । खानेपानीको पाइप जमिनमुनि कम्तीमा तीन फिट तलबाट बिछ्याउनुपर्ने मापदण्ड छ । तलसम्म खन्न झन्झट र लागत बढी पर्ने भएकाले उपभोक्ताले पनि एक फिटमै पाइप बिछ्याउने गरेका छन् ।

यसरी हुन्छ आपूर्ति
केयुकेएल : काठमाडौं उपत्यकामा अहिले दैनिक साढे ३७ करोड लिटर पानीको माग छ । तर, केयुकेएलले १३ करोडदेखि १३ करोड ५० लाख लिटर आपूर्ति गरिरहेको छ । यो आपूर्ति परिमाण बिस्तारै घट्दै जान लागेको छ । चैत, वैशाख र जेठमा औसतमा सात करोड ३० लाख लिटर वितरण हुने गरेको छ । साउन, भदौ, असोज, कात्तिक, मंसिरमा दैनिक १२ करोड लिटरसम्म आपूर्ति हुने गरेको छ । ट्यांकरको पानी : उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार दैनिक पाँच करोड लिटर पानी ट्यांकरबाट आपूर्ति हुन्छ ।

व्यवसायीले भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु र जोरपाटीबाट पानी संकलन गर्छन् । जार–बोतलको पानी : पानी प्रशोधन गरी जार र बोतलमा बिक्री गर्ने व्यवसायीले २४ लाख लिटर जारको पानी र दुई लाख २० हजार लिटर बोतलको पानी आपूर्ति गरिरहेको बोतल वाटर उद्योग संघले जनाएको छ ।
-नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *